Saturday, November 15, 2014

चराहरू फर्किएनन्

कवीता : फर्किएनन् चराहरू
हिउद लाग्यो
सिरेटोले शरीरलाइ कमाउन शुरू गर्यो
रूखका पातहरू पहेलिएर झर्न थाले
फर्किएनन् चराहरू
बर्षात लाग्यो
बर्षातसितै बाढी पहिरो आयो
हिलाम्मे भयो आगन
पानी पानीले आगन ,करेसाबारी भरियो
फर्किएनन् चराहरू
दशै आयो
अनि फेरि तिहार आयो
घर घरमा मान्छेहरू हन्समुख देखिए
टोल टोलमा मान्छेहरू ,टीका माला लाएका भेटिए
फर्किएनन् चराहरू
चराहरू
आफ्नै आकाशमा हराएका थिए
कोहि भन्थे चराहरूलाइ त्यतिखेरको राज्यले उडायो
कोहि भन्थे चराहरूलाई त्यो बेला बिद्रोहिले लखेट्यो
चराहरू खोज्ने क्रम जारी छ
एनजिओहरू छन् चराहरूको पछाडी
र भन्छ्न् हामी न्याय दिलाउछौ
आइनजिओ र मानवअधिकारबादिहरू पनि छन्
जुलूशलाई रहन्छन् चराहरूको खातिर र डलर भित्र्याउदै
आफ्नो गर्जो टार्ने ध्याउन्नमा समय खर्च गर्छन्
चराहरू
चराहरूको गुड्मा नफर्केकोमा
मेरो मन चराहरू भएर उडिरहन्छ
चराहहरूको पखेटा आँखा र चुचो कतै नमिल्दा
म चराहरूको मरे झै आत्मा भएर आफ्नै आत्माले भट्किरहन्छु
चराहरू अहिले गाउँमा नरहेको सत्य हो
चराहरू अहिले घर देखि बेपत्ता भएको पनि तथ्य हो
त्यही सत्य होइन भन्नेहरूलाइ
जबाफ दिन भनेर मैले कुरेको कैयौ दिन भयो
चराहरू फर्किदैछन् कि भनी मैले हेरी बसेको चौतारीमा धेरै भयो
फेरि बिहान भयो ,फेरी साझ पर्यो
मान्छेहरू ,पुन आफ्नो काममा टाढा टाढा हिड्न थाले
चिया पसलमा बसेर मान्छेहरू ,उस्तरी नै गफ चुट्न थाले
बिद्यालयबाट नानीहरू फर्किए ,जङ्गलबाट दाउरेहरू फर्किए
तर चराहरू फर्किएनन्
तिमीलाइ के थाहा !
तिनीहरू मेरो गाउका हर्के र बिर्खे थिए
अझै उनिहरूको परिवार म र शिङ्गो गाउँ
उनिहरूलाइ पर्खीरहेछ ।

अस्तु:

No comments:

Post a Comment