Tuesday, September 8, 2015

कथा : आस्था मिल्दैमा के हुन्छ र !





आस्था मिल्दैमा के हुन्छ र ?


मसित एउटा अनौठो स्वभाव छ । केही कुरा नलुकाउने आफ्नो बारे जो कोहीलाई परिचय भैसकेपछि सबै कुरा भनिदिने । कतिपय मानिसमा अँझ धेरैमा नै भनौ आफ्नो बारे अरूलाई सितिमिति नखुलाउने बानी हुन्छ । मेरो बाबा आमाको देन नै हुनुपर्छ, मैले आजसम्म ढाटन जानीन र यो उमेरसम्म कसैलाई केही नढाटेर जिन्दगी काट्दै आएको छु । मलाई सादगी स्वभाव ल्याई दिनु भएकोमा म आजन्म मेरा आदरणीय आमा बाबा प्रति हृदयदेखि नै नतमस्तक रहनेछु ।

समृद्धिलाई विवाह अघि नै आफ्नो बारे सबै कुरा बताएको थिए । उनीले आफ्ना आफन्तद्वारा मेरो खोजी नीति गरेको थाहा छैन । तर पछि मसित दाम्पत्य जीवनमा आएपछि केही ढाट्नुभएको रहेनछ भनेर प्रष्ट्र पारिन् । समृद्धि र मेरो विवाह भएको पाचौ वर्षमा चल्दै थियो । अहिले हामीसित बासका मुना जस्ता दुई बच्चाहरू थिए ।

म पढेर नि बेरोजगार जस्तै थिए । यसैले समृद्धिसितको सल्लाहले नै मैले दमक शहरको कुनै एक घरमा कोठा लिएर ट्युशन कक्षाहरू शुरू गरेको थिए । एस एल सी को फाइनल परीक्षा आउन लागेको थियो । एस एल सी दिने विद्यार्थीको समुह तीन चार थिए । म बिहान सबेरै गाउबाट शहर निस्कन्थे ।

पहिलो दोश्रो तेश्रो सेसनमा क्रमश बाह्र चौध र सोह्र विद्यार्थीहरू थिए । पहिलो प्रियड सात देखि दश बजेसम्मको थियो, यो ग्रुपमा आकाश, तनु, रमिला, गजला, लिला, रमेश, दिनबन्धु, आस्था लगायत बार्ह विद्यार्थी थिए । आस्था बाहेक सबै जना पढिसकेपछि हतार गरेर जान्थे । आस्था चाहि मलाई अली बुझाएर पढाउनु न विशाल सर भन्थी । यसैले उसको अनुरोध र जिज्ञासा बमोजिम म अलि समय दिएर आस्थालाई आधा घण्टा बढी नै मेहेनत गराउथे।

मेरो समय यसरी नै ट्युशन घर गर्दै गुज्रिरहेको थियो । म साबिक झैँ ट्युशन सकाएर हिड्न लागेको थिए । सबै गएपछि आस्थाको एक्स्ट्रा क्लास पनि सिद्दिएको थियो, आस्थाले भनी -” सर हजुर नरिसाउने भए एउटा कुरा सोधौ?”

“ल भूमिका नबाँधिकन छिटो भन,” मैले उसलाई भने।

उसले सोधी, ” हजुरको विवाह भएको छ कि छैन ?”

मलाई झनक्क रिस उठ्यो, मैले आफ्नो रिस नदेखारै उसलाई उत्तर दिएँ, “धत् लाटी, पढाइमा ध्यान लगाऊ, किन चाहियो यी सबै कुरा तिमीलाई !”

उसले पुन भनी – “सर भन्नु न प्लिज !”

आस्थाको धृष्टता देखेर मैले भनेँ, “म एक विवाहित पुरुष हुँ, मलाई माया गर्ने समृद्धि नामकी तिम्री गुरुआमा र प्रज्वल, प्रमिता नामका तिम्रा दुई भाइ बहिनीहरू छन् मसित ।”

मेरो जवाफमा, “धन्यवाद सर” भनेर ऊ त्यो दिन छुट्टिई मसित ।

ट्युसन पढाउने काम पनि सिद्धियो । फलत सबै विद्यार्थीले राम्रै डिभिजन ल्याएर पास भए । सबै जना पास भएकोमा मलाई खुशी लाग्यो । सबैलाई मैले बधाई पनि दिए अब त ती विद्यार्थीहरूसित भेट नभएको निकै वर्ष भएको थियो ।

म एकदिन दमक बजारको तल्लो चोकमा मोटरसाइकलमा यसै टहलिरहेको थिए । यत्तिकैमा कालो चस्मा, कलेजी रङ्गको कुर्ता सुरुवाल, हिल लगाएकी युवतीले मलाई मोटर साइकल रोक्नुस् भनेर इशारा गरी । म को होला भनेर अलमल्लमा परेँ ।

उसले चस्मा खोल्दै मुस्कुराएर भनी -“विशाल सर ! म आस्था हजुरले ट्युसन पढाएकी विद्यार्थी ।”

मैले उसलाई चिनेको जनाउस्वरूप आफ्नो टाउको हल्लाइदिएँ । उसले सोधी, “सर हजुर के गर्दै हुनुहुन्छ ?”

मैले भनेँ, “तिमीलाई थाहा छदै छ नि, त्यही ट्युशन सेन्टर, आयो गयो ।”

आस्था बोली -“ल म हजुरलाई सहयोग गर्छु नि ।”

म पुन अलमलमा परे । मा द्विविधायुक्त हुदै मैले प्रतीप्रस् गरेँ, “अली खुलस्त भनन आश्था के भनेको हो यो ?”

अनि आस्थाले काठमाण्डौबाट अग्रेजी विषय लिएर बि एड सकेको, अलि दिन दमकमै उसकी दिदीकोमा रहने र फुर्सद केही दिन भएकाले मलाई ट्युसनमा सहयोग गर्ने कुरा एकै सासमा खुलस्त पारी ।

मलाई आस्था बारे केही भन्नु छैन । उ हिजो दुख पाएकी पहाडबाट झरेर दिदीमा बसेर पढेकी केटी हो । मैले एउटा अविभावक जस्तै जिम्मेवारी हिजो दिएथेँ र आज पनि त्यो बोध ममा छ । यही कुरा मनन गरेर मैले भनेँ, “प्लिज आस्था ! जिद्दी नगर, म आफै पढाइ हाल्छु नि ।”

मेरो कुरा सुनेपछि केही दिन ऊ केही समय मेरो सामुमा देखा परिन । मैले शोचे ऊ सायद उच्च शिक्षा अध्ययनको लागि भ्याली रमना भै होली । तर एकदिन पुन ऊ मेरो ट्यूसन कक्षा सिद्दिए लगतै मसित बाटोमा भेटिई ।

“म आज गुरुआमाले बनाएको खाना खाने, भाइ बहिनीलाई पनि हेर्छु सर,” भनेर जिद्दी गर्न थाली । मेरो केही शीप नलागेर उसलाई लिएर मेरो गाउ भालुखुंडी गएँ ।

समृद्धि र नानीहरूसित आस्थाको परिचय भयो । उसले समृद्धिले बनाएको खाना औधि मिठो मानेर खाई । आस्थाले कुरै कुरामा समृद्धिलाई भनी, “गुरुआमा विशाल सर त साह्रै मजाको हुनुहुन्छ, बुझ्ने पनि, वहा जस्तो सहयात्री पाउनु हजुरको अहो भाग्य हो, उहासित म हमेशा बोलिरहन्छु हजुरलाई कुनै आपति त छैन नि !”

खै मलाई के भयो कुन्नि आस्थाको पछिल्लो वाक्यले बिचैमा बोल्न पुगेँ, “भयो भयो आस्था गफ टुंग्याउ, उता तिम्री दिदी बाटो हेर्दै हुनुहुन्छ होला ।”

समृद्धिले निशंकोच आस्थाको बचाउ गर्दै भनिन्, “बोल्न दिनु न त हजुर ! आस्था बहिनीलाई । आस्था बहिनी, मैले मेरो बुढोलाई राम्ररी चिनेको छु । वहाको फरासिलो बानीलाई अरूले अलि बेग्लै सोच्छन्, तर सधै परिवारप्रति उत्तरदायी र उदार हुनुहुन्छ । म यो पनि भन्छु कि वहाँसित आस्था मिल्दैमा के हुन्छ र ?”

समृद्धिको सारपूर्ण वाक्यांशले आस्था लज्जित हुदै चुप लागी । म आस्थालाई लिएर उसको दिदीकोमा पुर्याएर फर्कँदैछु, अनि फर्कदा मैले आफ्नी आस्थालाई सम्झेँ । उनको मप्रतिको विश्वासलाई कतै झर्न नदिने प्रण गरे । मेरो रफ्तारको बाटो क्रमशः हाइस्कुल, पाम्मीचोक, खरखरे, मिलडाडा, मगरगाउ हुदै मेरो घर नेरै पुगेको छु । यतिखेर म मेरो घरको आँगनमा छु मेरी समृद्धि र नानीहरू घर माथिदेखि मलाई नै हेरिरहेछन । मेरो कानमा भने अँझै पनि मेरी समृद्धिको उही वाक्यांश बार-बार आइरहेको प्रतित हुन्छ, “आस्था मिल्दैमा के हुन्छ र ?”

अस्तु

दमक,झापा
हाल ; अबुधाबी ,युएइ ।

Friday, November 28, 2014

गजल

 गजल

आजकाल त मान्छेको विचार यति पगारिएको छ
पुरा नहुने सपनाको भारी बोकेर, ऊ पछारिएको छ

मेरो देशमा कृतिमान राख्नेहरूको कुनै कमि छैन
अनि त नियम-कानूनले नदिएको कुरा सकारिएको छ

पुरानो र नयाँ पुस्ता बिचमा लम्बिएको छ दूरी
विद्वान छोराबाटै मध्यरातमा बाबु लघारिएको छ

बिज्ञापन र प्रसिद्धिले खानै माग्दैन होला शायद
यही भएर होला सुन्दरीको मुहार दिनदिनै लतारिएको छ

ए अविश्वास र अहितको खातिर जिउनेहरू हो !
विवेक सक्षम छ, नठान्नु ऊ कसैको दयामा पसारिएको छ ।

अस्तु ;

तिन मुक्तक

 १)

आज छ भोलि छैन चर्चा न हो जिन्दगी
आशाको डोरी बाट्ने चर्खा न हो जिन्दगी
कैले हास्छ, कैले बोल्छ, कैले त्यसै रिसाउछ
प्रेम अनि इर्ष्याको बर्षा न हो जिन्दगी ।

२)
तिमीले रोजेको उपमा म तिम्रो आँखाको कसिङ्गर नै सही
तिम्रो दृष्टिमा म सधै हावाले उडाउएको पात पतिंगर नै सही
आफैलाई बिर्सिएर जिन्दगीभर तिम्रो सुख-दुख ख्याल गर्न सकौ
तिम्रो गालीमा पनि म पुलकित छु काले, बदमाश, धशिंगरे नै सही ।

३)

सचेत भएर नि देशको लागि केही गर्न नसक्दा, मेरो शीर झुक्छ
बाध्यतामा अल्झेको छु, मरुभूमिको बालुवामा मेरो अनुहार लुक्छ
केही अब्बल काम गर्नै पर्छ भन्ने सोचाइबाट, कहिले भागेको छैन
यस्तो गहिरो बोध भएर नि, आफै पछि परेकोमा मेरो मुटू दुख्छ ।

अस्तु :

गजल (गित)

गजल (गीत)

दम्भ गर्नु तैले ,बेकार छ ए खाडी!
दूध आउने युबा छ्न् , तेरो अगाडि

मर्ने मार्नेले आखिर ,पाखुरी लौ सुर्किए
लडे नेपाली आखिर, देश भो पछाडि

जून जस्ती आमा ,घाम जस्ता बा मेरा
बाटामै हसाउथे, दुनियालाइ दाइ गफाडि

बुझ्नेलाइ श्रीखण्ड ,नबुझ्नेलाइ अर्थ छैन
रबरले कहिले बन्दैन ,गलैंचा र राडि

हिमाल हिम्मत होस् ,पहाड चाहिँ पौरख
तर हुदैन कुनै जागर ,खाली खैनी माडि ।

अस्तु;

@विवेक दुलाल क्षेत्री "दमक"
दमक, झापा
हाल ; अबुधाबी , यू ए इ ।

चार मुक्तकहरू

चार मुक्तकहरू

(१) जिन्दगी




जहर निले जस्तो यो साला जिन्दगी
सियोले खिले जस्तो यो साला जिन्दगी
चाहेर न अघि बढ्छ, न पछि सर्छ
कर्दले छिले जस्तो यो साला जिन्दगी।


(२) मख्ख

आफ्नो सम्झी बिदेशीलाई चाटेर मख्ख परे
आफन्तलाई जहाजमा राखेर मख्ख परे
ईतिहासले खोल्नेछ यिनको पोल तर
जन चाहनाको बिरुवा भाचेर मख्ख परे।


(३) लालच



मान्छेले न कैले अरुलाई मानेको छ
मान्छेले त हारलाई जीत ठानेको छ
यी सबै मिथ्या जानेर पनि सधैं
मान्छेलाई आफ्नै लालचले बाधेको छ।


(४) बाचन


 सक्छौ हत्या, हिंसाको मोचन गर
सक्तैनौ नहुने कुरा नगर
आन्तरिक कलहमा रोइरहेछ मेरो देश
भनी हाले आँफै तिमी बाचन गर।


अस्तु:

बिबेक दुलाल छेत्री "दमक"
दमक, झापा
हाल:यु ए ई, अबुधाबी।

मुक्तकहरू

मुक्तकहरू

(१) आँशु
जिन्दगी धेरै सस्तो छ सबु
समय जाल रच्दो छ सबु
तैपनि मुस्कुराउन खोज्दा
आँखामा आँशु खस्दो छ सबु ।


(२) एकालव्य
हजुर मात्र हुनुहुन्छ सभ्य
पर्न सक्छ कुनै बेला भवितव्य
हजुरको अर्जुन त निदाइसक्यो
हाजिर छु म एकलव्य ।


(३) जीवन
जीवन अरुकै आँखाको छारो भयो
जीवन अरुकै पानीको धारो भयो
राम्रो भन्ने अब त केही रहेन मेरो
जीवन, रात-दिन दुबै, अँध्यारो भयो ।


(४) दुनियाँ
आजभोलि घाँटी सुक्छ दलबीरजी
खुशी धेरै टाढा लुक्छ दलबीरजी
चुपचाप हिड्दै थिएँ आफ्नै धुनमा
यो दुनियाँ किन थुक्छ दलबीरजी?

अस्तु :

तिन मुक्तक

तिन मुक्तक 

क्षितिज र सन्नटामा मन लुक्छ अलिकति
रेगीस्थानको बालुवामा मन सुक्छ अलिकति
नचाहेर नि अरूको देशमा पसेपछि मित्र!
स्वभिमानको कुना कुना मन दुख्छ अलिकति ।

--------------------------------
सिर्जनामा रमाउने हर हातलाई सलाम
माटोभित्र खुशी रोप्ने हर साथलाई सलाम
शान्ति र सम्बृद्धिले भरियोस् यो देश नेपाल
नेपाली भै गर्व गर्ने हर बातलाई सलाम।
--------------------------------
दु:शासनभन्दा युधिष्ठिरकै डर छ
डिस्को मसाजमा कृष्णकै कर छ
समय यति साह्रो बिग्रिएछ साथी!
आफूभन्दा मान्छेलाई अरूकै भर छ।

अस्तु ;